११ वैशाख,काठमाण्डौ – नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओलीको सरकारको पनि दिनगन्ती सुरू भएको छ ।
शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहलाई वायस गरेर स्थायी कमिटी गठन गर्ने र विभिन्न कारवाहीका श्रृङ्खला अगाडि बढाएपछि प्रधानमन्त्री केपी ओलीसँग नेपाल समूह मात्र होइन नेता वामदेव गौतम पनि रूष्ट बनेका छन् । ओलीको यस्तो निर्णयलगत्तै शुक्रबार साँझ नै छलफलमा जुटेका माधव नेपाल र वामदेव गौतमले ओली सरकारको विकल्प खोज्ने र उनीविरूद्ध एक भएर पार्टीभित्रै संघर्ष गर्ने सहमति भएको छ ।
गौतमसँगको भेटपछि नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन र त्यसलाई सफल बनाउन आफूहरू तयार रहेको प्रतिवद्धता जनाएको सेतको दाबी छ । त्यसो त गत साता नै नेपाल र झलनाथ खनालले देउवानिवास नै पुगेर अविश्वासको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । नेपाल समूहको साथ पाउनेभएपछि नेपाली कांग्रेसले भित्रभित्रै अविश्वासको प्रस्तावको लागि सांसद्हरूको हस्ताक्षर गरिरहेको छ ।
जनता समाजवादी पार्टीले ओलीलाई नै साथ दिने भएपछि देउवा नयाँ सरकार गठनको किचलोबाट पछि हटेर मंसिरमा निर्वाचन गराउने पक्षमा पुगिसकेका थिए । तर एमालेभित्रको किचलो बढ्दै जाँदा र नेपाल समुह नै ओली सरकार ढाल्ने पक्षमा खुल्ला रूपले गृहकार्यमा लागेपछि देउवा उत्साही देखिएका छन् । उनले आफूनिकटहरूसँग पनि अब भने सरकारविद्ध अविश्वासको प्रस्ताव पेश गर्ने वातावरण बनेको बताउन थालेका छन् । कांग्रेस, माओवादी र नेपाल समुह एक भएमा जसपाको साथ नपाए पनि ओृलीलाई हटाउन सकिने कांग्रेसको बुझाइ छ । निर्णायक मोडमा राजपाभित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले पनि फ्लोर क्रश गर्न सक्ने कांग्रेसको बुझाइ रहेको छ ।
माओवादीले समर्थन फिर्ता लिने
कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने वातावरण बनेको भन्दै हस्ताक्षर अभियान नै चलाएपछि माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावको तयारी गरेको कांग्रेसलाई सघाउने भएको छ । माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रचण्ड पछिल्लो समय देउवासँग निरन्तर परामर्शमा रहेकोले आइतबार या सोमबारसम्म एकसाथ माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र कांग्रेसले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी भएको स्रोतले बतायो ।
ओलीले हाल संसद्को जारी अधिवेशन अन्त्य गरेकोले विशेष अधिवेशन बोलाउन पहल गर्ने र विशेष अधिवेशन सम्भव नभएमा वर्खे अधिवेशनको सुरूवातमै ओली सरकारलाई विदाई गरेर नयाँ सरकारले नै बजेट ल्याउनेगरी तयारी थाल्ने विषयमा देउवा, प्रचण्ड र नेपाल सहमत भएका छन् ।
के गर्ला जसपा ?
संसद् भंग गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यतिबेला ओलीविरूद्ध संघर्ष गरेको जसपा अहिले ओलीलाई समर्थन गर्ने कि विकल्प खोज्ने भन्ने विषयलाई लिएर विवादमा फसेको छ । पार्टीभित्रका महन्थ ठाकुर र राजेन्द्र महतो समूह ओलीले नै मधेका माग पूरा गर्न तयार रहेकोले उनैको सरकारलाई सघाएर अगाडि बढ्नुपर्ने पक्षमा छन् भने भट्टराई र यादव समूह भने ओलीको विकल्प खोज्नुपर्ने लाइनमा उभिएका छन् ।
ओलीलाई एमालेकै नेपाल समूहले साथ नदिने भएपछि आफूहरूले साथ दिए पनि ओली सरकार सुरक्षित नहुने भन्दै बैकल्पिक सरकार गठनमा जसपाले सघाउनुपर्ने उनीहरूको माग छ । एमालेको पछिल्लो विवादले नेपाल समूह नै ओलीको साथमा नरहने अवस्थामा ओलीलाई समर्थन दिनेबारे ठाकुर र महतोले पनि पुर्नविचार गर्ने अवस्थामा पुगेको बताइन्छ । त्यसैले देशको राजनीतिक माहोल ओलीको विपक्षमा गइरहेको चर्चा हुन थालेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar