१० बैशाख,काठमाण्डौ – नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ ।
आज (शुक्रबार) बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।
गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिने चारैजना भोलिपल्टै प्रदेश सरकारका मन्त्री बनेका छन् ।
आज ११ बजेपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकमा कर्णाली प्रदेशका ५ सहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गर्नुका साथै आवश्यक निर्णय गरिने नेता सुवास नेम्वाङले जानकारी दिए । नेता नेम्वाङका अनुसार फ्लोर क्रस गर्ने चार जना सांसदको कारवाही निश्चित छ । ‘कर्णाली प्रकरणमा अनुशासन उल्लंघन गर्ने चार सांसदलाई कारवाही हुन्छ । अरुको हकमा छलफलपछि नै निर्णय हुन्छ’, नेता नेम्वाङले रातोपाटीसँग भने, ‘नेपालकै इतिहासमा यस्तो अराजकता मच्चाउनेमाथि कारवाही भएन भने थप अराजकता बढ्छ ।’
यसैबीच, नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपालसहितका संघीय सांसदबारे भने उनीहरुको स्पष्टीकरण अध्ययन गरेर मात्रै निर्णय लिने भएको छ । ‘अरुको हकमा अहिले नै केही भन्न सकिँदैन । उहाँहरुको स्पष्टीकरण पनि अध्ययन र छलफल हुन्छ । सायद उनीहरुबारे नेताहरुबीच संवादसमेत भइरहेकाले तत्कालै कारवाही हुँदैन’,अध्यक्ष केपी ओली निकट एक नेताले भने, ‘सबैलाई एकैपटक कारवाही गर्दा बाहिर सन्देश पनि फरक जान सक्छ । त्यसैले उनीहरुको हकमा केही दिन पर्खँदा नै राम्रो हुन्छ भन्ने अध्यक्षको बुझाइ छ ।’
यसअघि वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar