९ बैशाख,काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड – १९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।
मन्त्रालयले कोभिड – १९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
उनकाअनुसार ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । सोहीअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए ।
उनले भने, ‘असार सम्ममा करिब करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ । ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ । हस्पिटल भित्र आउनुपर्ने ६० हजार बिरामी मध्ये ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०/१५ दिनको डेटा एनलाइसिस गर्दाखेरी देखिन्छ भने १५ हजार बिरामीको लागि क्रिटिकल केयर (आइसियु) चाहिने अवस्था देखिन्छ । त्यो हिसाबले हामी तयारी गर्नुपर्छ । यो बीचमा हामीले कोभिडका लागि गरेको ६ सय ४९ आधारभूत अस्पतालमा बेडहरु चलाएका छौं ।
केही जिल्ला अस्पताललाई स्तरोन्नती गरेका छौं, केही संघीय अस्पतालमा बेड थप्ने काम गरेका छौं । यो बीचमा हामी करिब ५ सय जति आइसियु बेडहरु थप्यौं, करिब ४ सय जति भेन्टिलेटरहरु थप गर्न सक्याछौं र त्यो भन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौं ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar