९ बैशाख,काठमाण्डौ – पाटनका इतिहासकार हरिराम जोशीले एउटा पुस्तकको फोटोकपी थमाए । सिद्धिचरण श्रेष्ठकृत खण्डकाव्य मंगलमान रहेछ । त्यो पढेपछि खुल्यो, चर्चित कहावत ‘ब्याक टु मंगलमान’ को अन्तर्य ।
मिलिटरी फौजलाई घरेलु इलम सिकाउने क्रममा मणिराज उपाध्याय र जुजुमान प्रधान समातिए, राणाविरोधीको बात लगाएर । जुजुमानलाई मृत्युदण्ड दिइने भएपछि गारदमा पुगे, उनका पिता गणेशमान र माइला छोरा मंगलमान । उनीहरुलाई भनियो, ‘ जति हेर्न मन लाग्छ, आजै हेर । भोलिपर्सि हेर्न पाउने छैनौ ।’ त्यतिबेला प्रधानमन्त्री पद्मशमशेर थिए भने चिफसाहेब मोहनशमशेर । चिफसाहेबको मृत्युदण्ड प्रस्ताव पद्मशमेशरले सकारेनन् । र, आजीवन कारावासको सजाय पाएका जुजुमान १२ वर्ष जेल बसेर प्रजातन्त्रसँगै छुटे ।
त्यही घटनापछि विद्रोही बनेर निक्लिए, मंगलमान । उनी कस्ता क्रान्तिकारी भने, आफू त्यति पढालिखा नभए पनि घरमै हरिजन विद्याश्रम खोले । स्कुलको हेडमास्टर बनाए धोबीलाई । च्यामे, पोडेका छोराछोरीलाई पढाए । विक्रम संवत् १९८२ साउनमा त्यौडको घवाननी चोकमा जन्मेका उनी समाज सुधारका क्रममा ३६ वर्षे जीवनमै २४ – २५ पटक जेल परे । घर–जेल, जेल–घर गर्दै बित्यो । एक पटक उनी बिरामीले थलिएर घरमा एक्लै रहेछन् । एउटा चोर पसेछ । जेलको साथीलाई देखेर दंग परेछन् । छक्क परेको त्यही चोरले मंगलमानलाई औषधोपचार गरेर ठीक पारेछ ।
आन्दोलनका हरेक मोर्चामा तैनाथ हुन्थे, मंगलमान । उनीबिनाको जुलुस फिक्का हुन्थ्यो । गंगालाल श्रेष्ठका पिता अध्यक्ष रहेको न्यून वैतनिक कर्मचारी संघको आन्दोलनमा समेत उनी थुनिए । खुर्सानी काण्डमा समातिए र जेलवास भयो । उनले सदैव आफूलाई ‘मंगलमान नेपाली’ का रुपमा चिनाए । कथित अछूतहरुका प्रिय नेता, गरिबहरुका साथी, भूगोलपार्क, ममता, नेपाली दैनिकका सम्पादक । डाक्टर केआई सिंहलाई ‘ड्राइभर’ लेखेबापत उनको पत्रिका भूगोलपार्कको दर्ता खारेज भएको थियो ।
अछूतहरुसितको बसाउठीले गर्दा उनको भातपानी काडियो । आफूले मन पराएकी च्यामे कन्यासित विवाह गर्न पाएनन् । ७ पुस २०१८ मा उनको इहलीला सकिँदा लास उठाउने कोही भएनन् । न गुठियार, न दाजुभाइ, न छरछिमेक, न इष्टमित्र, न पत्रकार ।
सिद्धिचरणले त्यही सामाजिक साँघुरोपनविरुद्ध उठेको फिलिंगोरुपी मंगलमानलाई नायक बनाएर सिंगो काव्य लेखेका रहेछन् । कृष्णचन्द्रसिंह प्रधानको शब्दमा ‘हेर्दा ग्वाँजे ग्वाँजे, होचा–होचा र कमिज सुरुवालमा सधैँभरि हतारहतार हिँडिरहने सर्वहारा’ यी पात्रको कथालाई डिल्लीरमण रेग्मीले घोषणा गरेका रहेछन्, ‘ब्याक टू मंगलमान’ । अर्थात्, काम गर्ने, जस नपाउने । जति काम गरे पनि सधैँको पछाडि ।
प्रज्ञा पुस्तक प्रदर्शनी थियो, मंसिरको अन्तिम साता कमलादीमा । छान मार्ने क्रममा भेटियो, शुभ जन्मोत्सव काव्यार्चना । यो पुस्तक पाउँदा किन–किन आनन्दानुभूति भयो । पहेँलो र खैरो खोल भएको किताबमा मोल भने रहेनछ । अनमोल भएकाले मोल नराखिएको होला सायद ।
जसै काउन्टरमा पुस्तक देखाएँ, रसिद बनाइयो दुई रुपैयाँको । अहिलेको जमानामा दुई रुपैयाँमा पुस्तक पाउनु ‘अहोभाग्य’ नै हो । प्रदर्शनीकै एक छेउमा बसेर किताब पढिसिध्याएँ ।
खासमा यो रहेछ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यहरुद्वारा गरिएको काव्यार्चना । सन्दर्भ ३० जेठ ०२७ अर्थात् राजा महेन्द्रको जन्मदिन । १३ जना अर्चनाकार रहेछन्, केदारमान व्यथित (सायद कुलपति) बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराय, धर्मराज थापा, पोषण पाण्डे, रत्नध्वज जोशी, विजय मल्ल र श्यामदास वैष्णव ।
‘सरकारको परम भक्त प्रज्ञा परिवार’ को समर्पणमा लेखिएको छ, ‘सरकारबाट हाम्रै सर्वोच्च शिखरमा फुकिबक्सेको बाँसुरीबाट …।’ चिल्ला कागजमा १२ कविले कविताबाटै राजा महेन्द्रको जयगान गरिरहँदा सूर्यविक्रम ज्ञवाली दु:खी आत्माजस्ता देखिए । उनले तीन अनुच्छेदमा आफ्नाे काम चलाउ गद्यबाटै टिठलाग्दो अर्चना गरेका रहेछन् । यिनले आफ्ना गद्यलाई तोडफोड गरेर कविता बनाउन नचाहेका हुन् या नसकेका हुन् ? यसै भन्न सकिएन ।
हुन त नेपालमा स्तुतिकारहरुको कमी कहिल्यै भएन । एक सेट स्तुतिकार अहिले पनि नेपाल प्रज्ञाप्रतिष्ठानमै मौजुद छन् । तिनले राजालाई स्तुति गर्नुपर्ने बाध्यता छैन । तर बालुवाटारमा बाँसुरी फुक्ने केपी ओलीको अर्चना गर्ने आइडिया भने निकाल्न सक्छन् । शीतलनिवासमा राष्ट्रपतिज्यूको विरुदावली गाउने मौका पनि छँदै छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar