‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिने अनलाइनलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण
न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ३, शुक्रबार (३ साल अघि)
१०५८ पाठक संख्या
‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिँदै तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिमा ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाई ‘रअ र प्रधानमन्त्री के.पी. ओलीबिच भएको सहमति…’ भनी विभिन्न न्यूजपोर्टलहरुबाट अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराको नामबाट जारी उक्त विज्ञप्तिमा जनमानसमा भ्रम पार्ने, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनताविपरीत, सामाजिक सद्भावमा खलल पुग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध एवं भाइचाराको सम्बन्धमा गम्भीर असर पुग्ने गरी भ्रमपूर्ण सामग्री सम्प्रेषण भएको भन्दै ती सञ्चारमाध्यमलाई २४ घण्टे स्पष्टीकरण माग गरिएको छ ।
ती सञ्चारमाध्यमहरुबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(२), ४(६) र ५(१) उल्लङ्घन भएको ठहर गर्दै काउन्सिलले सूचीकरण नभएका वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको जनाएको छ ।