३० चैत,काठमाण्डौ – आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ६३ अर्ब २१ करोड पुगेकाे छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात – आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ ।
राष्ट्र बैंकले निकालेकाे प्रतिवेदन अनुसार याे अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.०२ प्रतिशत छ । त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ६८ अर्बले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ ।
त्यस्तै, संघीय सरकारको खर्च ५७१ अर्ब २ करोड र राजस्व परिचालन ५ खर्ब ७१ अर्ब २० करोड छ । विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दाबी १७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू वर्षको ८ महिनाको समीक्षा प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएकाे छ ।
रिपोर्टका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar