१४ चैत्र,मकवानपुर – बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल बजेटको २५.३५ प्रतिशत मात्रै खर्च गरेको छ ।
प्रदेश सरकारले चालू वर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेटको १३ अर्ब ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ मात्र खर्च गरेको हो । त्यस्तै प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ३ करोड २९ लाख १५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ३९ करोड ४५ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क हेर्ने हो भने प्रदेश सरकार मातहतको प्रदेशसभा सचिवालयले सबै भन्दा धेरै बजेट खर्च गरेको देखिन्छ । प्रदेश व्यवस्थापिकाले चालु आर्थिक वर्षको ८ महिना अवधिमा कुल बजेको ३९ दशमलब ८६ प्रतिशत बजेट खर्च गरिसकेको छ ।
प्रदेश व्यवस्थापिकाका लागि चालुतर्फ २७ करोड २ लाख ७३ हजार रुपैयाँ र पुँजीतर्फ ४ करोड ९२ लाख ५० हजार रुपैयाँ गरी कुल ३१ करोड ९५ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित कुल बजेटमध्ये प्रदेश व्यवस्थापिकाले चालुतर्फ ११ करोड ९६ लाख २३ हजार रुपैयाँ र पुँजीगततर्फ ७७ लाख २२ हजार रुपैयाँ गरी कुल १२ करोड ७३ लाख ४६ हजार रुपैयाँ चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा खर्च गरिसकेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको ८ महिना अवधिमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले कुल बजेटको सबैभन्दा कम ८ दशमलब ६५ प्रतिशत मात्र बजेट खर्च गरेको छ । मुख्यमन्त्री कार्यालयलाई चालुतर्फ ५६ करोड १७ लाख ६१ हजार रुपैयाँ र पुँजीगततर्फ ३० करोड ४३ लाख ३० हजार रुपैयाँ गरी कुल ८५ करोड ६० लाख ९१ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा फागुन मसानसम्ममा कार्यालयले चालुतर्फ ६ करोड ७३ लाख १ हजार रुपैयाँ र पुँजीगततर्फ ७५ लाख ९५ हजार रुपैयाँ गरी कुल ७ करोड ४८ लाख ९७ हजार रुपैयाँ मात्र खर्च गरेको छ । तुलनात्मक रुपमा प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष भन्दा बढी बजेट खर्च गर्न सफल भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी राजेन्द्र पाण्डे बताउँछन् ।
अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को चैत मसान्तसम्ममा प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालय तथा कार्यालयहरूले कुल बजेको १९ दशमलब ५७ प्रतिशत मात्र बजेट खर्च गरेका थिए । कोरोना संकटका बीचमा नै गत आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेको ५८ दशमलब ७१ प्रतिशत बजेट खर्च गरेको पाण्डेले बताए । अघिल्लो आर्थिक वर्षको तुलनाका आधारमा भन्ने हो भने चालु आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटको ७० प्रतिशत मात्र बजेट खर्च गर्ने अनुमान रहेको पाण्डे बताउँछन् । यस वर्ष पनि कुल बजेटको ३० प्रतिशत रकम खर्च नहुने अवस्था रहेको उनले बताए ।
असारे विकासका काम तुलनात्मक रुपमा केही कमि आए पनि अन्त्य नभएकाले आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च बढि हुने गरेको उनको भनाइ छ ।
प्रदेश सरकारले संचालन गरेको विभिन्न योजनाको सम्झौता भएर मोभिलाइजेशन पेश्की मात्र भुक्तानी भएकाले र केही योजनाहरु प्रदेश सरकारले उपभोक्ता समितिमार्फत पनि संचालन गरेको र समितिका व्यक्तिहरु आर्थिक वर्षको अन्त्यमा मात्र भुक्तानी माग गर्दै आउने भएकाले पनि आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च बढी हुने गरेका उनको भनाई छ ।
आर्थिक वर्ष समाप्त हुन ४ महिना अवधि बाँकी रहेको छ । यो ४ महिनाको अवधिमा प्रदेश सरकारले कुल बजेटको ७५ प्रतिशत बजेट खर्च गर्नु पर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar