१ फागुन,सुनसरी – सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका-४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुनै झन्झट थिएन ।
उनले नियमति विद्युत् प्रयोग गरेपनि तिर्नुपर्ने बिल घरमा नआउँदा उनलाई यसप्रति कुनै चिन्ता थिएन । चौधरी जस्तै रामधुनी गाउँपालिका-८ निवासी राजकुमार उराँव पनि आफ्ना खेतमा सिँचाइको लागि पानी तान्ने पम्पबाट सिँचाइ गरिरहेका थिए । खेतमा जति सिँचाइ गरे पनि विद्युत्को महशुल तिर्न उनलाई समस्या थिएन ।
वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत् उपयोग गर्ने उनी जस्तै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी विजय यादव, कोशी गाउँपालिका-६ निवासी चन्दन यादव, इनरुवा नगरपालिका–८ निवासी रामचन्द्र मण्डलसहित ३५ जना उपभोक्ता एकै पटक विद्युत् चोरीको आरोपमा पक्राउ परे ।
सूचनाका आधारमा विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणले बनाएको योजनामा नेपाल प्रहरी र सशस्त्र तथा विद्युत कार्यालयका कर्मचारी सहितको टोलीले एकासाथ ३५ जनालाई पक्राउ गरी कारवाही चलायो । जनही ११ हजार ८३० रुपैयाँ जरिवाना तिराइएको कारवाहीबाट प्राधिकरणले तीन लाख ७८ हजार २४० रुपैयाँ असुलउपर गरेको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए ।
‘सुनसरीमा विद्युत् चोरी भइरहेको अन्य ठाउँबाट पनि सूचना आइरहेको छ, यसलाई पूर्णरुपमा नियन्त्रण गर्न अभियान चलाएका छौँ, यस अभियानलाई सफल बनाउन विद्युत् चोरी गर्नेका छरछिमेकले पनि सहयोग गर्नुपर्छ’, उनले भने । गैरकानूनी तरिकाले विद्युत् चोरी गर्दा मानिसको ज्यान पनि जान सक्ने भएकाले यसबाट बच्न र बचाउन अभियान सञ्चालन गर्नु परेको प्रमुख साहको भनाइ छ ।
आफ्ना सेवा क्षेत्रमा विद्युत् चोरी हुन नदिन निकै सतर्कता अपनाए पनि रातिको समयमा हुने चोरीलाई नियन्त्रण गर्न केही समस्या भएको भन्दै प्रमुख साहले विद्युत् बाल्ने र महशुल भुक्तानी नगर्ने उपभोक्ताको पनि सूची तयार गरेर विद्युत् विच्छेद गर्ने योजना बनाई काम गरिरहेको बताए ।
उनले यसकार्यअन्तर्गत विद्युत् महशुल नतिर्ने १२२ को लाइन काटिएको बताए । लाइन काटिएका ग्राहकबाट कूल ३३ लाख ६६ हजार रुपैयाँ असुलउपर गरेको बताइएको छ । हाल यो शाखाअन्तर्गत ४५ हजारभन्दा बढी उपभोक्ता छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar