१६ माघ,विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक संकट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताएका छन् ।
शुक्रबार, नेकपा प्रचण्ड–नेपाल समूहद्धारा विराटनगरमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन मात्र गरेको नभइ लोकतन्त्र माथि नै बलात्कार गरेको आरोप लगायका हुन् ।
पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको भन्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने भन्दै उनले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए ।
अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ ।’
सोही पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले देशभर प्रतिगमनविरुद्ध आवाज उठिरहेको चर्चा गर्दै संविधानसभाले निर्माण गरेको संविधानको घाँटी थिच्ने काम भएको बताए । उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आन्दोलन, संघीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताए ।
उनले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालत संविधान र जनताको भावना अनुसार फैसला गर्ने विश्वास आफूमा रहेको भन्दै निर्वाचन आयोगले पनि नियम र कानूनअनुसार निर्णय गर्ने भएकोले पार्टी आफ्नै पक्षमा रहने दावी गरे ।
सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको केन्द्रीय र स्थायी कमिटिमा आफूहरुको पक्षमा दुइतिहाई बहुमत रहेकोले निर्वाचन आयोगले सोहीअनुसार पार्टीको वैधानिकता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले जनआवाजलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सुन्नुपर्ने धारणा राख्दै संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको बताए । कार्यक्रममा सोही पार्टीका नेता योगेश भट्टराई, शिवकुमार मण्डल र भीम आचार्यले सरकारको कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताउँदै उक्त कदम सही नभएको तर्क गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar