शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २०, शनिबार (३ साल अघि)
८३६ पाठक संख्या
२० मंसिर,काठमाडौं – राजसंस्थाको माग गर्दै आज शनिबार राजधानी काठमाडौंमा प्रदर्शन भएको छ ।
‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ ले आह्वान गरेको उक्त प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा सहित पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए । उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले राजसंस्था स्थापना, संघीयताको र धर्म निरपेक्षताको खारेजी सहितको आफूहरुको माग गरेका थिए । त्यस्तै उनिहरुले हिजोको जस्तो राजा होइन, बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताएका छन् । त्यसका लागि आगामी फाुगन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन गर्ने समेत घोषणा गरेका छन् ।
उता प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई समेत बेवास्ता गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरेका हुन्।