शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २०, शनिबार (३ साल अघि)
५९८ पाठक संख्या
२० मंसिर,काठमाडौं – न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।
भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भई ती तीनवटै प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री र अधिकतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।