१४औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
६०५ पाठक संख्या
१७ मंसिर,तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले विधि, नियम र पद्धतिमा कांग्रेस चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्ने बताएका हुन् । त्यस्तै कार्यक्रममा बोल्दै उनले तोकिएको अवधिमा महाधिबेशन गर्नाका लागी आफूले आन्तरिकरुपमा संघर्ष समेत गरिरहेको बताए ।
उनले भने, ‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो, त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु ।’ पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए ।
वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवद्र्धन र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने समेत उनको भनाई थियो ।