शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
४१२ पाठक संख्या
१६ मंसिर,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डबीच मंगलबार पनि भनाभन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन भएको हो । यस अघीको बैठकमा अध्यक्ष द्धयको प्रतिवेदनका कारण र झाँगिएको विवादका बीच अब पार्टीको भविष्य के होला भन्ने अन्योलता कायमै रहेको बेला आज मंगलबार सचिवालय बैठक बसेको थियो ।
सोही बैठकमा ओली र प्रचण्डबीच पुनः भनाभन भएको एक सचिवालय सदस्यले बताए । उनका अनुसार आजको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान ओलीले राखेका थिए भने आफ्नो मन्तव्यका क्रममा पनि प्रचण्डमाथि शब्दबाणले घोचपेच गरेका थिए ।
यस्तै उनले प्रचण्डको प्रस्तावका कारण थप समस्या भएको भन्दै बाहिरबाटै सहमति खोजिनुपर्ने भन्दै बैठक छल्ने कुरा गरेका थिए । ओलीले बैठक बाहिरबाट समस्याको समाधान गर्ने बताएपछि प्रचण्डले प्रतिवाद गरेका थिए ।
बैठकमा ओलीलाई औंला तेरस्याउदै प्रचण्डले भने-‘कम्रेड छलछम गर्ने प्रयास नगरियोस् !’ प्रचण्डलाई उद्धृत गर्दै सचिवालयका एक नेताले भने । प्रचण्डले बैठक कसैले पछि छल्न नमिल्ने र बैठकबाट निस्किने निचोडलाई सबैले मान्नुपर्ने बताएपछि दुई अधयक्षबीच भनाभनको अवस्था सिर्जना भएको समेत उनले बताए । उता प्रचण्डले प्रतिवाद गर्दा महासचिव विष्णु पौडेलले मात्रै प्रधानमन्त्री ओलीको पक्षमा धारणा राखेका थिए ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताएका थिए । उनका अनुसार बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाएपछि पार्टी कार्यालय धुम्बाराहीमा तय भएको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे एक बजे बसेको थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार आजकाे बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका दुई वटै राजानीतिक प्रतिवेदनका विषयमा सचिवालयका सदस्यहरुले धारणा राखेका थिए । आजको बैठक करीब तीन घण्टा चलेको थियो ।