कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या साँढे ६ करोड नजिक
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
८०० पाठक संख्या
१६ मंसिर,काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ३५ लाख नाघेको छ भने १४ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरस सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ३५ लाख ८९ हजार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख ७३ हजार ९२० जनाले ज्यान गुमाईसकेका छन् । त्यस्तै अहिलेसम्म ४ करोड ३९ लाख ८४ हजार १२७ जना कोरोना मुक्त भएको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा आजसम्म २ लाख ७४ हजार ३३२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यस्तै अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या १ करोड ३९ लाख १९ हजार ८७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६१ हजार ५६८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २३८ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४८२ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९४ लाख ६३ हजार ५५४ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६३ लाख ३६ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १६५ पुगेको छ ।