'इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं' : प्रधानमन्त्री ओली
१२ मंसिर,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाउन नेपाल तयार रहेको बताएका छन् ।
हिजो (विहिबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाउन नेपाल तयार रहेको बताउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।
भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
उनका अनुसार कालापानी/लिम्पियुधाराबारे नेपालले उठाएको मुद्दालाई वार्ताद्वारा समाधानका लागि तयार रहेको मोदीको सन्देश हर्षवर्धनले सुनाएका थिए ।
भारतको गत स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए ।
सोही वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने जनाएका थिए ।
प्रधानमन्त्री ओलीले सचिव हर्षबद्र्धनसँगको भेटमा आपसी विवाद समाधान भए सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए ।
नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’ का रुपमा प्रयोग नहुने उनले जनाएका थिए ।
भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो ।
त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ ।
सचिव श्रृङ्गलाभन्दा अघि गत महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नवरवणेले नेपाल भ्रमण गरेका थिए ।
नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृङ्गगाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा भट्टराईले सचिव हर्षबद्र्धनले परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीचका सहकार्य र आपसी सबै विषयमा छलफल भएको अवगत गराएको जानकारी दिए ।
सचिव श्रृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणामूलक बनाउन पहल गर्ने विश्वास दिलाएका थिए ।
विहिबार नेपाल आएका सचिव शृङ्गलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभएको थियो भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar