६ मंसिर,काठमाडौं – नेपालले पहिलो पटक अन्तरिक्षमा हुने अनुसन्धानमा भाग लिने भएको छ ।
अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएको छ ।
योसँगै नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको हो ।
एसिया तथा प्रशान्त क्षेत्रका अन्तरिक्षमा अनुसन्धान गर्ने वैज्ञानिक संस्थाहरूको छाता संगठन एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमले पृथ्वीमा रहेका जडीबुटीलाई गुरुत्वाकर्षण मुक्त क्षेत्रमा अंकुरण गराउँदा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अन्तरिक्षमा अनुसन्धान गर्न लागेको छ ।
विभिन्न एसियाली मुलुकमा पाइने जडीबुटीलाई अनुसन्धानको लागि अन्तरिक्षमा लैजाने क्रममा फोरमले नेपालबाट तुलसीको बिउलाई अनुसन्धानमा समेटेको छ ।
सोही अनुसन्धानमा नेपाली वैज्ञानिक संस्थालाई समेत संलग्न गराइएको हो ।
फोरमको २०१९ नोभेम्बर (२६-२९) सम्म जापानमा बसेको बैठकले नेपाल, जापान, ताइवान, भियतनाम, बंगलादेश लगायतका देशमा रहेका छुट्टाछुट्टै जडीबुटी अन्तरिक्षमा अध्ययनको लागि पठाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुरुप नेपालबाट बैठकमा प्रतिनिधित्व गरेको संस्था नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले तुलसीको बिउलाई अन्तरिक्षमा पठाउन प्रस्ताव गरेको थियो ।
अनुसन्धानका लागि नेपालबाट पठाइएको तुलसीको बिउलाई डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाइँदै छ ।
तुलसीको उक्त बिउ डिसेम्बर २ मा अन्तरिक्ष पठाउन लागिएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नास्टले जनाएको छ ।
उक्त अनुसन्धानमा नेपाली अनुसन्धानकर्ताहरू अन्तरिक्षमा जान भने पाउने छैनन् ।
अहिले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा अमेरिका, जापान, रसिया, युरोपियन युनियन लगायत १५ वटा देशले ६ वटा कम्पार्टमेन्ट बनाएको छ ।
यी देशहरूले आ-आफ्नै कम्पार्टमेन्टमा अनुसन्धान गर्ने गर्छन् ।
प्रत्येक कम्पार्टमेन्टमा ६ महिनाको लागि एक जना अन्तरिक्ष अनुसन्धानकर्ता तिनै १५ देशबाट पठाउने गरिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar