३ मंसिर,काठमाडौं – आज (बुधबार) दिउँसो १ बजेका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले बोलाएका मन्त्रिपरिषद् बैठक, एक घण्टाका लागि धकेलिएर २ बजे बस्ने भएको छ ।
आज दिउँसो ३ बजे नेकपाको सचिवालय बैठक बस्ने पूर्वनिर्धारित समय तय भएपनी प्रधानमन्त्री ओली पक्षले बैठकलाई अझै सार्न जोडबल गरिरहेको थियो भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले बैठक पूर्वनिर्धारित समयानुसार नै राख्नुपर्ने भन्दै अडान राखेको थियो ।
अन्ततः सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा पनि दुई घण्टा अघि सरेर १ बजे बस्ने भएको छ ।
तर, लगत्तै प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषद् बैठक बोलाएका थिए । मन्त्रिपरिषद्को बैठक सामान्यतयाः सोमबार र बिहीबार बस्ने गरेको थियो ।
तर, कुनै विशेष एजेन्डाबिनानै पुर्वनिर्धारित् सचिवालय बैठककै समयमा अकास्मात् प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
यो सन्दर्भमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् केही नयाँ गर्न लागेका हुन् भन्ने सन्देश आएको उनीनिकट केन्द्रीय सदस्यहरुले अनौपचारीक रुपमा बताएका छन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो मगंलबारको मध्यरातमा भएको छलफलपछि लिएकोले दल विभाजन सम्बन्धी अध्यादेशसँगै मन्त्रिपरिषद्को पुर्नगठनबारे निर्णय हुन सक्ने प्रवल सम्भावना रहको समेत बताईएको छ ।
अध्यक्ष प्रचण्ड इतर एक केन्द्रीय सदस्यले भनेअनुसार प्रधानमन्त्री ओली पार्टी विभाजन गर्ने मनस्थितिमा पुगिसकेका छन् ।
उनले भनेका छन्-‘अध्यक्ष दाहालले कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई प्रतिपक्षले भन्दा पनि तल्लो स्तरको आरोप लगाएकाले अब सँगै बस्न सक्ने अवस्था रहेन ।
त्यस्तै आजको मन्त्रिपरिषद बैठकले पनी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सम्भावना छ ।’
ओली निकटकै अर्का केन्द्रीय सदस्यले पनि प्रधानमन्त्री ओलीले आफूहरुलाई पार्टी फुटाउनुपर्ने बाध्यता आइलागेको बताउँदै सहयोगको लागि अनुरोध समेत गरिसकेको बताएका छन् ।
‘उहाँ दल फुटाउने मनस्थितिमा पुगिसक्नुभएको छ । हामीसँग उहाँले सहयोग पनि मागिसक्नुभएको छ ।’ उनले भनेका छन् ।
यता अहिले पनि प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । उनी दल विभाजनकै थप सर-सल्लाहको लागि शीतल निवास पुगेको बताइएको छ ।
यसअघि पनि गत बैशाखमा नेकपा आन्तरिक विवादमा अल्झँदा प्रधानमन्त्रीले दल फुटाउने अध्यादेश ल्याएका थिए ।