२ मंसिर,मुस्ताङ – हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा हिमपात सुरु भएको छ ।
हिमाली भेगका बिभिन्न स्थानमा परेको हिमपातसँगै देशैभर चिसो बढेको छ भने जनजीवन प्रभावित भएको छ ।
देशका बिभिन्न स्थानमा परेकोहिमपात अधिकांश स्थानमा बढेको चिसोले भाइटीकालाई समेत असर गरेको थियो ।
त्यस्तै मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको छ ।
त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथ आसपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, लोमान्थाङ, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको जानकारी दिए ।
‘केही दिनयता बढेको चिसोले धाराको पानी जम्न थालेको थियो,’ उनले भने ‘आजको हिउँले चिसो बढेर जनजीवनलाई प्रभावित बनाएको छ ।’ हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ ।
उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ ।
हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले याकचौँरी, भेंडाच्याङ्ग्रा, घोडा, खच्चरलगायत पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।
विगत वर्षमा उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायत जिल्लामा घुम्ती व्यापारका लागि आउँथे ।
यसपालि कोरोना महामारीको जोखिमका कारण स्थानीयवासी जाडो छल्न बेंसी झरेका छैनन् ।
मुस्ताङ सदरमुकाम जोमसोम आसपासका डाँडामा पनि हिउँ परेर सेताम्मे भएको छ ।
यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।
गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गाउँ नजीकैका डाँडा हिउँले सेताम्मे भएको, चिसो बढेको र सर्वसाधारणले घरभित्रै बसेर तिहार मनाएको जानकारी दिनुभयो ।
चिसो बढेपछि म्याग्दीका कृषकले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेंसी झार्न थालेका छन् ।
गाउँलेले बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौँरी र भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् ।
चिसो बढे पनि पानी भने परेको छैन । आकाशमा बदली भएकाले चिसो बढेको हो ।
त्यस्तै गहुँ, जौ, तोरी, आलुलगायत हिउँदे बालीको सिँचाइका लागि वर्षात् आवश्यक परेको कृषकले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar