२८ कार्तिक,काठमाडौं – झण्डै तीन साता लामो तनाव र रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन् ।
बैठकको पूर्व सन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेल लगायत नेतासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुवास नेम्बाङलगायत आफूनिकट नेताहरूसँग पनि परामर्श गरेको जनाइएको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहिबार खुमलटारमा सचिवालयका बहुमत नेतासँग छलफलमा जुटेका थिए ।
अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक रूपमा र उपाध्यक्ष वामदेव गौतमसँग अलग्गै भेट गरेका हुन् ।
दुवै पक्षले फेरि उपाध्यक्ष गौतमलाई फकाउने प्रयास जारी राखेका छन् ।
हाल प्रचण्ड/नेपाल समूहमा खुलेका गौतम बैठकसम्म टिममै रहन्छन् कि प्रधानमन्त्रीलाई साथ दिन पुग्छन् भन्नेमा अन्योल नै रहेको स्रोत बताउँछ ।
गौतमले विगतमा पनि अन्तिम समयमा ओलीलाई साथ दिएका थिए ।
शुक्रबार बस्ने तय भएपछि अोली र प्रचण्ड/नेपाल समूहका नेताहरुले बिहीबार भिन्दाभिन्दै छलफल गरे ।
उनीहरु आफ्नै तयारीमा र रणनीतिका साथ बैठकमा बस्ने भएकाले पनि सचिवालय बैठक सहन नहुने संकेत गर्दछ ।
यसबीचमा एकअर्का समूहले विरोधीमाथि दबाब बनाउन चालेका कदम, यहीबेला नेताहरुबीच उत्पन्न अविश्वास र उनीहरुले दिएका अभिव्यक्तिले शुक्रबारको बैठक सहज नहुने भने निश्चत छ ।
दाहाल/नेपाल समूहले आजको बैठकमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषय, स्थायी कमिटी निर्णयविपरित मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद, भारतीय गुप्तचर रअका प्रमुखको नेपाल भ्रमण, कोभिड-१९ को अवस्था, संघीयताको मुद्दालगायतका विषय उठाउने तयारी छ ।
ओली समूह भने सरकारविरुद्ध घेराबन्दी भएको भन्दै त्यसको प्रतिवादमा उत्रने तयारीमा छ ।
बैठकका लागि औपचारिक एजेण्डा भने तय भइनसकेको बताइन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar