शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २७, बिहिबार (४ साल अघि)
९९२ पाठक संख्या
२७ कार्तिक,काठमाडौं – उपत्यकामा देउसी-भैलो खेले कडा कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) एक सूचना जारी गरी तिहारका बेला देउसी-भैलो लगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न आग्रह गरेको हो ।
त्यस्तै प्रशासनले चाडपर्व मनाउँदा अनावश्यक रुपमा जमघट नहुन समेत भनेको छ ।
त्यसैगरी, समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी साथै पटका पड्काउने कार्य नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।
‘कानुनले वर्जित गरेका तथा नगर्न/नगराउनु भनी निर्देशन दिएका क्रियाकलापहरु भए गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सबैको जानकारीका लागि अनुरोध छ’-सूचनामा भनिएको छ ।
मानिसको आवत जावत र भिडभाडले कोरोना संक्रमणको जोखिम थप बढ्सक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदन्डको अनिवार्य रुपमा पालना गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।