धुम्बाराही अनौपचारिक बैठक सम्पन्न : बैठक बोलाउन ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २१, शुक्रबार (४ साल अघि)
८४१ पाठक संख्या
२१ कार्तिक,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठक सम्पन्न भएको छ ।
आज पार्टि केन्द्रीय कार्यालय धुम्वाराहिमा बसेको नेकपा सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज शुक्रबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ५ जना सचिवालय सदस्यको अनौपचारिक बैठक थियो ।
बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने उक्त बैठकमा अनुपस्थित भएका थिए ।
कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि ओलीसँग प्रचण्डले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले औपचारिक बैठक राखे त्यहीबाट पार्टी विभाजन हुने ओलीले बताएपछि अनौपचारिक छलफल राखिएको जानकारी गराएका थिए ।प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।