कोरोना संक्रमितको निःशुल्क उपचारको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २१, शुक्रबार (४ साल अघि)
४६९ पाठक संख्या
२१ कार्तिक,काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार व्यवस्थापन गर्ने विषयमा प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरेको छ।
सर्वोच्च अदालतले कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्न आदेश गरेकाले सोही अनुकुल निर्णय बनाउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरिएको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
कोरोना संक्रमितको उपचारमा शुल्क लिन पाउने व्यवस्थाका लागि मन्त्रालयले दर्ता गरेको निवेदन बिहीबार सर्वोच्चले खारेज गरेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो।
शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै अर्यालले ‘संक्रमितको निःशुल्क उपचार गर्नू’ भन्ने आदेशमा पुनरावलोकन गर्न आफूहरूले दिएको निवेदन खारेज भएको जानकारी पाएको बताउँदै भने, ‘सर्वोच्चबाट उक्त आदेश प्राप्त भएपछि मन्त्रिपरिषद्ले यसअघि गरेको निर्णय मिलाउन अर्को प्रस्ताव लैजाने तयारी छ।’
कोरोना संक्रमित स्वयंले उपचार खर्च बेहोर्नुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेका हुनाले त्यहीँबाट सच्याए मात्रै मन्त्रालयले आदेश कार्यान्वयन गर्न सक्ने उनको भनाइ थियो। आर्थिक अवस्था कमजोर भएका, विपन्न, अपांगता भएका र ६० वर्षमाथिका वृद्धवृद्धाको उपचार शुल्क सरकारले व्यहोर्ने निर्णय गरेको थियो। तर सर्वोच्च आदेशपछि सबै नागरिकको उपचारमा जिम्मा सरकारले लिनुपर्ने भएको छ।
अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमा सुनुवाइ गर्दै असोज १५ गते सर्वोच्चले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न आदेश दिएको थियो।
तर स्वास्थ्य मन्त्रालयले सबैको उपचार निस्शुल्क गर्न नसकिने जिकिर गर्दै आदेश पुनरावलोकनका लागि निवेदन दर्ता गराएको थियो।