२६ असोज,विराटनगर – गत भदौ २४ गते सांझ मोरङको धनपालनाथ गाउँपालिकामा, धानबालीमा युरिया मल छर्न गएका बेला बेलबारी नगरपालिका– ८ का ३३ वर्षीय सुरेश खवासले २१ वर्षीया युवतीलाई करणी गरे ।
युवतीलाई सांझपख धानबारीमा लगी ३३ वर्षीय खवासले जवरजस्ती करणी गरेको आफन्तको आरोप छ । उनीहरुलाई धानबालीमा आपत्तिजनक अवस्थामा भेटेपछि खवासलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
पीडित युवतीका मामाले दिएको जानकारीअनुसार घटनापछि भोलिपल्ट बिहान उजुरीका लागि प्रहरी कार्यालय जाने तयारी थियो । तर, गाउँको घटना गाउँमै मिलाउने भन्दै समाजले रोक्यो । बिहान समाज बसेर मिलापत्रका लागि छलफल भयो र पीडिकका तर्फबाट ५ लाख रुपैयाँ दिने कथित ‘मिलापत्र’ मा हस्ताक्षर भयो ।
गाउँका अगुवा र जनप्रतिनिधि सम्मिलित भेलाले पिडित किशोरीमाथि भएको करणीको मूल्य पाँचलाख तोकिदिएको थियो ।
आर्थिक अवस्था विभिन्न भएका कारण पीडित परिवारले प्रश्न गर्न सकेको थिएन भने समाजको डरले पनी प्रहरीलाई जानकारी गराउन पनि सकेको थिएन ।
घटना घटेको भोलीपल्ट, भदौ २५ गते गरिएको उधारो कागजमा गत असोज ९ गतेसम्म ५ लाख रुपैयाँ दिने लेखिएको थियो । कागजमा युवकलाई ‘समागममा रंगेहात समातिएको’ व्यहोरा उल्लेख गरिएको छ । पीडित युवतीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेर उधारोमा मिलापत्र गराइए पनि पीडक पक्षले रकम नदिएपछि अहिले पीडित पक्ष प्रहरीसमक्ष पुगेको छ ।
उधारो मिलापत्र गरिएको कागजमा धनपालथान गाउँपालिका – ५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवासले समेत हस्ताक्षर गरेका छन् ।
धनपालथान गाउँपालिकाकी एकजना २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटनामा ३३ वर्षका युवक, जनप्रतिनिधिकै आफन्त संलग्न रहेको खुलेपछि जनप्रतिनिधिले गाउँमै मिलापत्र गराएका थिए । उक्त मिलापत्रमा दुईजना जनप्रतिनिधिसहित स्थानीय पञ्च भलाद्मीले समेत हस्ताक्षर गरेका छन् । घटनामा पीडित भनिएकी युवती अर्काको घरमा काम गर्न बस्ने गरेको खुलेको छ ।
उता मिलापत्र भएको घटनाको जानकारी पाएपछि मोरङ प्रहरीले आइतबार पीडित पक्षलाई बोलाएर सोधपुछ गरेको छ । र, किशोरीको वयानपछि इलाका प्रहरी कार्यालय रंगेलीले जाहेरी लिएर अनुसन्धान समेत सुरु गरेको रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।
युवतीले काम गर्ने घर पीडककै आफन्त भएका कारण पैसामा मिलाउन दवाव
पीडकले युवतीलाई ललाई फकाई खेतमा लगेर करणी गरेको युवतीका मामाले बताए । उनले भने, ‘घटनापछि प्रहरीमा जानकारी दिन भनेर हामी आउन खोजेका थियौं, तर प्रहरीमा जान दिएनन्, जनप्रतिनिधिहरुले नै गाउँको घटना गाउँमै मिलाउनुपर्छ भन्दै पञ्चायत बसाए ।’
बलात्कार मुद्दामा मिलापत्र गराउन बसेको पञ्चायतमा पीडिकपक्षबाट ५/७ जना आएका थिए । पीडित युवतीले काम गर्ने घर पीडककै आफन्तको भएका कारण पैसा दिएर मिलाउने पक्षमा सबै लागि परे ।
छलफलमा सहभागी एक स्थानीयका अनुसार छलफलमा दुईजनाको विवाह गराइदिने विषय पनि उठेको थियो । तर, पीडित युवक विवाहित भएका कारण युवतीलाई जिम्मा लिन मानेनन् । त्यसैले युवतीको बिहे खर्च र क्षतिपूर्ति बापत पाँचलाख दिने कागज भयो ।
तर, तोकिएको भाकामा पीडिक पक्षले रकम नदिएपछि २५ भदौमा बैठक राख्न भूमिका खेलेकी वडा सदस्य नेपालदेवी खवासको घरमा फेरि छलफल भयो । छलफलमा पीडक पक्षलाई बोलाइयो । तर, आएनन् । आज, भोलि भन्दै पीडक पक्ष रकम नदिई पन्छिएपछि गाउँमा गुपचुप राख्ने भनिएको घटना बाहिर आयो ।
घटनाका बारेमा जानकारी आएपछि किशोरीलाई बोलाएर सोधपुछ गरिएको प्रहरीको भनाइ छ । किशोरीको परिवार विपन्न भएको र पीडिक जनप्रतिनिधिकै आफन्त भएका कारण गाउँमै घटना लुकाउन खोजेको प्रहरीको विश्लेषण छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar