२१ असोज,काठमाडौं – गत असोज १४ गते रामेछापका ४३ वर्षीय रुद्र मगरको खाना खाने क्रममा घांटीको खाना नलीमा दुई वटा कुखुराको हड्डी अड्कियो । त्यसलगत्तै उनी उपचारका लागि नेपाल कोरिया अस्पताल पुगेका थिए ।
नेपाल कोरिया अस्पतालले रिफर गरेपछि असोज १६ गते उनी वीर अस्पतालमा भर्ना भए । त्यसपछि शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि पिसिआर परीक्षण परिक्षण समेत गरिएको थियो । तर १९ गते आएको रिपोर्टमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
तर कोरोना पिसिआर परिक्षणका क्रममा उक्त बिरामीमा कोरोना पोजेटिभ देखिएपनी बिर अस्पतालका चिकितसकहरुले भने आवश्यक सतर्कता अपनाई पिपिई लगाएर शल्यक्रिया गरी उनको घांटीमा अड्कीएको हड्डी निकालेका छन् । उपचारमा संलग्न चिकित्सकहरुले उनी कोरोना संक्रमित भएका कारण शल्यक्रिया चुनौतीपूर्ण भएको उनले बताएका छन् ।
कोरोना पोजेटिभ भए पनि आफूहरुले आवश्यक सतर्कता अपनाई पिपिई लगाएर शल्यक्रिया गरेको वीर अस्पतालका इ एन टी सर्जन डा ओमप्रकाश यादवले बताए । उनी कोरोना संक्रमित भएका कारण शल्यक्रिया चुनौतीपूर्ण भएको उनले बताए । उनले भने, ‘यो शल्यक्रिया हाम्रो लागि चुनौतीपूर्ण थियो। किनभने हामीले कोरोना संक्रमितको शल्यक्रिया गर्दै थियौं। यो शल्यक्रिया आफैंमा जटिल थियो, त्यहींमाथि कोरोना संक्रमित पनि। त्यसैले सबै सावधानी अपनाएर, फुल पिपिई लगाएर हामीले खाना नलीमा अड्किएको हड्डी निकाल्न सक्यौं।’
निकालिएको हड्डी २ दशमलव ५ र १ दशमलव ५ सेन्टि मिटरको रहेको अस्पतालले जनाएको छ । शल्यक्रियामा डा यादव सहित डा धिरज विशंखा, डा सुदिन कायस्थ एनेस्थेसियाका डा कौशल तामाङ र डा सवनम संग्रौला र नर्समा कृति गुरागाईं संलग्न थिए । ती बिरामी हाल अस्पतालको कोभिड वार्डमा छन् । उनको अवस्था सामान्य भए पनि कोरोना संक्रमित भएका कारण दुई साता अस्पतालमै रहनुपर्ने डा यादवले बताए।
उनले भने, ‘बिरामी अहिले ठिक छन् । आज पानी पनि हामीले खान दिएका छौं। तर कोरोना संक्रमित भएकाले उनी आइसोलेसनमा छन्। कोरोनाका कारण बिरामीको अवस्था कस्तो हुन्छ, त्यो अहिले भन्न सकिँदैन। १४ दिनपछि नै थाहा हुन्छ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar