प्रदेश राजधानीको बिषयलाई लिएर २ हजार भन्दा बढी कार्यकर्ताद्धारा नेकपा परित्याग
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन २०, मंगलबार (४ साल अघि)
५३९ पाठक संख्या
२० असोज, बुटवल – प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।
आज बुटवलमा पत्रकार सम्मेलन गरी पार्टिका ३५ बिभाग तथा संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालि लगायतका संस्थामा आवद्ध पार्टी सदस्यहरुले नेकपा छाड्ने घोषणा गरेका हुन् ।
उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । रुपन्देहीमा अस्थायी राजधानी राख्दा रुपन्देहीका व्यवसायिक संघसंस्तथाहरुले आफ्ना कार्यालय भवनहरु दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरुले त्यसलाई नजर अन्दाज गरेको उनिहरुको गुनासो छ ।
राजधानी सार्ने प्रस्तावका सन्दर्भमा पार्टीका नेताहरुको लाचारीपनाले गर्दा आउंदो निर्वाचनमा लज्जास्पद पराजय हुने समेतउनीहरुको तर्क छ । उनीहरुले अब सत्तारुढ नेकपामा पार्टीमा बसिररहन नैतिकता नदिएको भन्दै स्वतन्त्र रहने स्पष्ट पारेका छन् ।