अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्ती हुंदै : सुरेन्द्र पाण्डेद्धारा सहरी विकास मन्त्रालय अस्विकार
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन २०, मंगलबार (४ साल अघि)
१०२६ पाठक संख्या
२० असोज, काठमाडौं – आज दिउंसो ४ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै छ ।
सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेको छ । उनको नियुक्तिबारे छलफल गर्न आज सचिवालय बैठक बस्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । उक्त बैठकले रिक्त रहेका मन्त्री पदमा नियुक्तीबारे छलफल हुने र आजै वा भोलि बुधबार मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको बालुवाटार स्रोतको दाबी छ ।
त्यस्तै मन्त्रिमण्डल विस्तार तथा नयाँ मन्त्री थप गर्नेबारे पार्टी अध्यक्षद्वय ओली र दाहाल यसअघि नै करिब सहमतिमा पुगिसकेको स्रोतको भनाइ छ । अध्यक्षद्वयको उक्त सहमतिलाई आज बस्ने भनिएको सचिवालय बैठकले अन्तिम रुप दिने तयारी रहेको बताइएको छ । सहमतिका साथ सचिवालय बैठकले अन्तिम रुप दिए आजै वा भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।
हाल ३ मन्त्रालय रिक्त छन् । अर्थमन्त्री भने बामदेव गौतम र सुरेन्द्र पाण्डेको चर्चा रहे पनि नेकपा महासचिव तथा सांसद बिष्णु पौडेललाई नियुक्ति गर्ने सम्भावना बढी रहेको स्रोतहरुको दाबी छ ।
यस्तै, नेकपाकै अर्का नेता जनार्दन शर्मा पनि सरकारमा सामेल हुने बुझिएको छ । तर, शर्माले कुन मन्त्रालय सम्हाल्छन् भन्ने प्रष्ट छैन । यस्तै, अर्थमन्त्रीको चर्चामा रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सहरी विकास मन्त्री नियुक्त गरिने तयारी छ ।
तर, पाण्डेले भने अर्थमन्त्री आफ्नो भागमा नआउने भएपछि मन्त्री बन्न नै अस्वीकार गर्दै आएका छन् ।