राजधानी सार्ने प्रस्ताव संविधानको भावना विपरीत : नेकपा रुपन्देही
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १८, आईतबार (४ साल अघि)
१०९६ पाठक संख्या
१८ असोज, बुटवल – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला कमिटीले प्रदेशको राजधानी दाङमा सार्न प्रदेशले गरेको प्रस्तावप्रति विरोध जनाएको छ ।
आईतवार नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला कमिटीले एक बिज्ञप्ति प्रकाशित् गर्दै संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने व्यवस्था गरे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्दा संविधानको भावना आत्मसात नगरेको जानकारी दिएको छ ।
‘कोरोना महामारीको विषम अवस्थामा प्रदेश सरकारले राजधानी सार्न पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण पनि देखिंदैन’ पार्टी अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण जीसीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै प्रदेश राजधानी सार्दा रुपन्देही र यस आसपासका नागरिकलाई असुविधा पर्ने भएकाले जनमत आन्दोलित हुनु स्वाभाविक भन्दै नेकपाले राजनीतिक दल, संघसंस्था तथा नागरिकलाई संयमित रुपमा आफ्नो मत राख्न आग्रह गरेको छ ।
नेकपाले रुपन्देहीवासी र यहाँका संघसंस्थाले प्रदेश सरकार र यसका विभिन्न अंगहरुलाई स्थापित गर्न गरेको योगदानको सम्मान गर्न पनि प्रदेश सरकारलाई विज्ञप्तिमार्फत अपिल गरेको छ । प्रदेश सरकारले ठूलो धनराशी समेत खर्च गरी भौतिक पुर्वाधार समेत निर्माण गरिसकेको अवस्थामा वर्तमान अस्थायी राजधानीलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाई यस क्षेत्रको पार्टी पंक्ति, जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
नेकपाको तिलोत्तमा नगर कमिटीले पनि प्रदेशको राजधानी सार्ने प्रस्ताव उपयुक्त नभएको भन्दै रुपन्देहीलाई नै कायम गर्न माग गरेको छ । नगर अध्यक्ष मोहन चापागाई र सचिव लक्ष्मण खनालले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भौतिक पूर्वाधार र जनसंख्याका हिसाबले पनि रुपन्देही नै उपयुक्त रहेको दावी गरेको छ ।