५ नं.प्रदेशको नाम बुद्ध र राजधानी कपिलबस्तु माग गर्दै अनशन सुरु
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १८, आईतबार (४ साल अघि)
८१५ पाठक संख्या
१८ असोज, कपिलवस्तु – ५ नं. प्रदेशको को स्थायी राजधानी कपिलवस्तु र प्रदेशको नाम ‘बुद्ध प्रदेश’ राख्नुपर्ने माग गर्दै कपिलबस्तुमा रिले अनशन सुरु भएको छ ।
बुद्धकालीन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थान कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडि स्थानीय अनशनमा बसेका हुन् ।
अनशन बस्नेहरुमा समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता, सन्तोष कसौधन र बृजेश भटरा छन् । प्रदेशको नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु हुनुपर्ने मागसहित अनशन बसेको रउफ अहमद खाले बताए ।
प्रदेश नं. ५ को परासीदेखि बर्दियासम्मको जनतालाई पायक पर्ने स्थान कपिलवस्तु नै भएको उनको भनाइ छ । कपिलवस्तुलाई राजधानी नबनाउँदासम्म रिले अनशन जारी रहने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउनु पर्ने प्रस्ताव प्रदेश सभामा पेस भएको छ । सो प्रस्तावमाथि १९ असोजदेखि छलफल सुरु हुँदै छ ।