१८ असोज,हुम्ला – हुम्लाको सिमकोट गाउँपालिकामा, परपुरुषसँग प्रेम–सम्बन्ध राखेको भन्दै एक महिलालाई आफ्नै श्रीमान सहितको भिडले दिसा खुवाएको छ ।
गत शुक्रवार, हुम्लाको सिमकोट गाउँपालिका निवासी एक २३ वर्षीया महिलालाइ परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा आफ्नै श्रीमान समेतको भिडले मोसो दल्दै दिसा खुवाएको घटना बाहिरिएको हो । सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी केश मुण्डन सहित मोसो र जुत्ताको माला लगाएर, गाउँ समेत घुमाइएको छ ।
उनिहरुले, परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनु पर्नेमा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ नै नगरी महिलालाई निर्घात कुटपिट गरिएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको पिडित महिलाले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए,त्यसपछि मेरो कपाल मुण्डन गरे,’उनले भनिन्, ‘कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर फेरी निर्घात् कुटपिट गरे ।’
अहिले उक्त महिला गाउँबाट बाल बाल फुत्किएर जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइ चिच्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोरा छोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन् ।
उता उक्त महिलाको जाहेरीको आधारमा कुटपिट गर्ने श्रीमान् सहित अन्य आठ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरीसकेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले पनी उक्त घटनाबारे छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्छन्, कानुनी उपचार खोज्न सक्छन् । तर, कुटपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्य प्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ ।’ डिएसपी सुवेदीले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar