७ असोज काठमाण्डौं – पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ ।
मुटु र मिर्गौलामा समस्या उत्पन्न भई गत तीन सातादेखि नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो । उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लामा तेह्रथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए । राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ ।
वामपन्थी पृष्ठभूमिका उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भए । उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।
आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar