शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र २६, शुक्रबार (४ साल अघि)
८०६ पाठक संख्या
२६ भदौ,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा बोल्दै बरिष्ठ नेता माधव कुमार नेपालले आक्रामक रुपमा प्रस्तुत हुंदै पार्टी विधि र पद्धतिमा नचलेको बताए । उनले अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाएका थिए । नेपालले एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा कड्किएका थिए । नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा पनी जोड दिएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
बरिष्ठ नेता नेपालले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आएका छन् । उनले यसबारेमा प्रचण्डसँग हिजो बिहीबारको भेटमा समेत असन्तुष्टि पोखेका थिए । नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्ममा नेता नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेको श्रोतले बताएको छ ।
आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएको २० मिनेटमै बाहिरिएका थिए । उनी अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ ।