१६ असार काठमाण्डौं – नेकपा भित्रको विकसित आन्तरिक विवादले पार्टीको भविष्य नै के होला भन्ने नेता कार्यकर्तामा अन्योलता पैदा भएको छ ।
गत सचिवालय बैठकबाटै मागिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय पार्टीको एक शक्तिशाली निकाय स्थायी समितिमा पनि औपचारिक रुपमा प्रवेश पाएको छ । स्थायी समितिमा पनि ओलीको राजीनामाको विषय प्रवेशसँगै नेकपाको भित्रको आन्तरिक विवाद थप छताछुल्ल भएको छ ।
यसअघि आफ्नो राजीनामाबारे विभिन्न उपाय अपनाउँदै विषान्तर गर्ने गरेका ओलीले मंगलबारको स्थायी समिति बैठकमा भने नाजवाफ बन्नु परेको छ । यद्यपी उनले आफ्नो बचाउ भने मंगलबारको बैठकमा समेत गर्ने प्रयास गरिरहे ।
मंगलबार ११ बजे निर्धारित समयमै सुरु भएको बैठकमा करिव साढे ६ घण्टा नेताहरुबीच चर्को स्वरमा सवाल जवाफ भएको थियो । त्यसक्रममा ओली पक्षबाहेकका नेताहरुले उनको राजीनामा नमागेपनि अन्य नेताहरुले सिंगो नेकपा र त्यसमा आवद्ध पार्टी कार्यकर्ता तथा देशकै भविष्य संटकमा परेको भन्दै ओलीको बर्हिगमन मात्रै एकमात्र विकल्प रहेको बताएका थिए ।
सोही अनुसार पछिल्ला दुई घटनाक्रम (सरकार ढाल्न भारत लागेको र एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको) विषयमा ओलीसँग जवाफ मागिएको थियो ।
बैठकको सुरुमै अध्यक्ष प्रचण्डले केही दिनयताका घटनाक्रमबारेको प्रसंग कोट्याउँदै भने, ‘तपाइँले सरकार र पार्टी सञ्चालनको प्रक्रियाबाटै नैतिकता गुमाउनुभयो । ५ वर्ष सरकार चलाउनुस् भनेर दिएकै हो । तर विचारमा पनि विचलन आयो । त्यसकारण भारतले होइन मैले मागेको हुँ राजीनामा । तपाइँले राजीनामा गर्नुस्’, प्रचण्डले यस्तो भनेपछि जवाफ दिँदै ओलीले पनि कुण्ठा बोकेर आफूमाथि घेरावन्दी गरेको भन्दै प्रतिपाद गर्ने प्रयास गरेका थिए ।
‘राष्ट्रियताको पक्षमा नक्सा जारी गर्नु, संविधान संशोधन गर्नु, के मेरो गल्ती थियो ?’ ओलीले बैठकमा भनेको उदृत गर्दै एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘कुण्ठाका आधारमा विरोध गरेर हुँदैन । बरु म सरकारले गरेको कामको फेहरिस्त नै दिन्छु’ यति भनेर ओली बैठकस्थलबाट बाहिरिएका थिए । ओली बैठकस्थलबाट २ बजे निस्किएका थिए । ओली निस्केपछि पनि बोल्ने अधिकांश नेताहरुलेसरकार र पार्टी दुवै सञ्चालनमा ओली असफल भएको भन्दै राजीनामाको विकल्प नभएको धारणा राखेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar