न्युज डेस्कप्रकाशित मिति: २०७७ बैशाख १४, आईतबार (४ साल अघि)
१६४ पाठक संख्या
१४ बैशाख काठमाण्डौ- सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर वैशाख २५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।
सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदै छ।
सरकारले लकडाउनको समयसीमा थप गरेको यो चौथो पटक हो । यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पुर्याइएको थियो ।
यसैगरी त्यसपछि पुनः वैशाख ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १६ गते अर्थात भोलिसम्मका लागि लकडाउन गरेको थियो । योसहित नेपालमा ४५ दिन लकडाउन हुने निश्चित भएको छ।
हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमण ५२ जनामा पुष्टि भइसकेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।