सरोकारवाला निकायले ध्यान नंदिदा दैनिक उपभोग्य वस्तु खरिदमा समस्या
प्रकाशित मिति: २०७६ चैत्र ११, मंगलबार (४ साल अघि)
४२८ पाठक संख्या
काठमाडौं – सरकारले आजदेखि लागू हुने गरी एक साताका लागि देशभर ‘लकडाउन’ को निर्णय गर्यो ।
सोमबार साँझ अकास्मात रुपमा सरकारले लकडाउनको निर्णय गरेपछि कतिपय राजधानीबासी तथा देशका अधिकांश स्थानका मानिसहरुले दैनिक उपभोग्य वस्तुको जोहो गर्न भ्याइसकेका थिएनन् । अहिले दैनिक उपभोग्य वस्तु पाइने किराना पसल तथा सुपरमार्केटहरु बन्द हुँदा समस्या भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
हुन त कताकति प्रहरीको उपस्थिति नरहेको ठाउँमा पसलहरु खुलेका पनि छन् । तर सबैठाउँमा सहज रुपमा छैन ।
प्रहरी र सरोकारवाला निकायले समयमै ध्यान दिन नसक्दा आवश्यक उपभोग्य वस्तु खरिदमा समस्या भएको राजधानीको बालाजुस्थित नेपालटारकी कमला घिमिरेले बताइन् ।
‘दैनिक उपभोग्य वस्तु केही स्टक रहेपनि केही किन्न पर्ने थियो । तर एकाएक लकडाउन हुँदा पसलहरु खुलेका छैनन् । समस्यामा परियो’, उनले गुनासो गरिन् ।
स्थानीय प्रशासनको यसबारे ध्यान पुग्नुपर्नेमा जोड दिँदै उनले दैनिक उपभोग्य वस्तुको खरिदका लागि एउटा सिस्टम बनाउन पर्नेमा जोड दिइन् ।
यसविषयमा बुझ्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले दैनिक उपभोग्यवस्तु खरिदका लागि स्पष्ट उल्लेख नभएकाले केही अन्योलता देखिएको स्वीकारे । तर उनले व्यवस्थित रुपमा दैनिक उपभोग्य वस्तु पाइने किराना तथा सुपरमार्केटहरु खोल्न प्रहरीले कुनै रोकावट नगर्ने स्पष्ट पारे ।
‘यो समय घरमै बस्ने हो र बाहिर भिडभाड नगर्ने समय पनि हो । तर यसो भन्दैमा किराना पसल र ग्रोसरीहरु पूरै बन्द गर्ने भन्ने पनि होइन । हामीले खोल्न दिन्छौं । मात्र व्यवस्थित रुपमा गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ उनले भने ।
उनले जनतालाई कोरोना भाइरसको जोखिमबाट जोगाउनकै लागि लकडाउन गरिएकाले सोही अनुसार आम मानिसपनि सचेत हुनुपर्नेमा जोड दिए । रातोपाटिवाट साभार l