काठमाण्डौमा केक काटेको र भात खायको ब्रेकिङ न्युज लेख्ने पत्रकार छन् : केपी ओली
प्रकाशित मिति: २०७६ फागुन १५, बिहिबार (४ साल अघि)
७०४ पाठक संख्या
१५ फागुन,काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले दुर्गममा खानेपानी, बिजुली, सडक र बैंक पुगेको नदेख्ने पत्रकारहरुले ‘केक काटेको र भात कतिको खाए ?’ भनेर हिसाब गरेर बसेको मात्र देखेको भन्दै पत्रकारहरुको आलोचना गरेका छन् ।
बिहीबार पार्टि मुख्यालयमा आयोजित् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाग्मती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीले सञ्चारमाध्यमहरुले सरकारले दुर्गमका जनताका पक्षमा गरेको काम नदेखेको भन्दै पत्रकारहरुको आलोचना गरेका हुन् ।
सरकारले विकास गर्दा दुर्गमका जनता खुसी भएपनि त्यसमा काठमाडौंका पत्रकारहरु भने धुरु–धूरु रोएर बसेको उनको टिप्पणी छ । ‘पाँचथरको सुख्खाग्रस्त क्षेत्र यासोक र रानीमा घरघरमा धारा पुर्याएको खुशीयालीमा त्यहाँका जनता नाँचे, खुशीयालीमा रमाए, खाना खाए र उत्सव मनाए तर बिचरा पत्रकारहरु धुरुधुरु रोए’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो गाउँमा जन्मेको मनिस प्रधानमन्त्री भएर गाउँमा विकास लिएर पुग्दा खुशी हुनु, नाँचगान गर्नु र बाजा बजाउनु स्वभाविक हो ।’
त्यस्तै ओलीले विरोध गर्ने विषय नपाएकाहरुले आफ्नो जन्मोत्सव र केक काटेको विषयलाई मुद्दा बनाएको भन्दै आलोचना गर्नेहरुलाई ‘केक राष्ट्रवाद’ को संज्ञा दिए । उनले मोदी र ओवामाहरुले समेत जन्मोत्सव मनाएको युट्युवहरुमा हेर्न सकिने भन्दै मन परेको चिजको आकारमा केक बनाएर ल्याएको भएपनि आफुले त्यो नहेरेको जवाफ दिए ।
‘कतिवटा केक ल्याए मैले त त्यो पनि हेरिनँ, अण्डा र माछाका डाला ल्याए, छोइदिएँ, मेरो फोटो बनाएर ल्याउँछन्, काट्छन् । तर म त काटिएको छैन, केक पो काटिएको हो !’ उनले नेपालको नक्सा आकारको केक काटिएको भन्दै विरोध गर्नेहरुलाई यस्तो जवाफ फर्काए ।
प्रधानमन्त्री ओलीले आफु धन कमाउन नभई देश बनाउन हिँडेको दाबी पनि गरे । ‘म देश बनाउन हिँडेको हो, धन कमाउन होइन । म मरेपनि पछिल्ला पुस्ताले मेरो आदर्श बोकेर हिँडुन् भन्ने हो । त्यसैले म भन्ने गर्छु म आफु पनि भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न्’, ओलीले प्रधानमन्त्री आफै भ्रष्टाचारमा संलग्न भएको भन्ने आरोपको खण्डन गरे ।
विकास र सम्मृद्धिका काम गरिरहेको भन्दै दुई वर्षमा ३ हजार किलोमिटर सडक कालोपत्रे गरेको र त्यो इतिहासमै धेरै काम भएको प्रधानमन्त्रीको दावी थियो । कोही पनि एकैचोटी धनी हुन नसक्ने भन्दै उनले तीव्र विकासको बाटोमा लागेका १० देशभित्र नेपाल तेस्रो देशमा पर्न सफल भएकोमा गर्व गर्नुपर्ने सुनाए ।
साक्षरता दर बढाएको र सडक मानवमुक्त बनाएको भन्दै यस्ता सकारात्मक कामलाई ओझेलमा पार्ने प्रयास गरिएको ओलीले दावी गरे । नेकपा र सरकार दुवै सही नीति लिएर अघि बढेको भन्दै ओलीले देश चलाउन विचारमा दृढता चाहिने सेमत जनाए । ‘पार्टीका बैचारिक नीति सही छन्, संगठन सुदृढ र गतिशिल छन् । तर केही कमजोरी पनि छन् । त्यो कमजोरी भनेको पार्टीका सञ्चारमाध्यम छैनन्, पार्टी कमिटीका नेताहरुका सञ्चारमाध्यम छन् तर लेख्ने वेला पार्टी र सरकारकै विरोध गर्छन्’ ओलीको गुनासो थियो ।